साविकका जिल्ला शिक्षा कार्यालयहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४/१२/२७ को निर्णय अनुसार गृह मन्त्रालय (जिल्ला प्रशासन कार्यालय) अन्तर्गत रहने गरी शिक्षा विकास तथा समन्वय इकाइको रुपमा कायम गरिएको थियो। नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५/०९/०९ तथा मिति २०८३/०४/११ को निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत संघीय कार्यालयको रुपमा देशका सबै जिल्लाहरुमा रहने गरी हाल शिक्षा विकास तथा समन्वय एकाइको व्यवस्था गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ संघीय सरकारको जिल्ला स्तरीय संरचना हो, जसले संघीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय गर्ने काम गर्दछ। प्रमुख कार्यहरुमा विद्यालय शिक्षाको नियमन, शिक्षक व्यवस्थापन, परीक्षा सहजीकरण र छात्रवृत्ति कार्यक्रमको कार्यान्वयन पर्दछन्।

शिक्षा विकास तथा समन्वय एकाइको कार्यविवरण

  • संघीय शिक्षा कानुन ,नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपको प्रबोधीकरण र कार्यान्वयन गर्ने कार्य;
  • संघीय, प्रदेश र स्थानीय तहका सरकारहरुसँग शिक्षा सम्बन्धी कामहरुमा समन्वय गर्ने कार्य;
  • शिक्षकहरुको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने कार्य;
  • निवृत्त शिक्षकहरुको निवृत्तिभरण (पेन्सन) र उपदान सम्बन्धी कामको सहजीकरण गर्ने कार्य;
  • माध्यमिक शिक्षा परीक्षा (SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य;
  • शैक्षिक प्रमाणपत्रहरुमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य;
  • विपन्न लक्षित छात्रवृत्ति र द्बन्द्बपीडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य;
  • विद्यालयहरुको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य;
  • जिल्लाभित्रका सामुदायिक संस्थागत र धार्मिक विद्यालयहरुको विवरण संकलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन (IEMIS) मा अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य;
  • विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य;
  • शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेको अन्य कार्य;